लन्डन–ग्लोबल नेप्लिज न्युज नेटवर्क(जीएनएन)ले आइतबार भर्चुअल माध्यमबाट नेपालीहरुको महान चाड विजया दशमी पर्वको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गरेको छ ।कार्यक्रममा नेटवर्कका संयोजक तथा बीबीसीका पूर्वपत्रकार भगीरथ योगीले कोभिड-१९ पछि उत्पन्न परिस्थितिका बीच प्रवासमा क्रियाशील नेपाली अनलाइन न्युज पोर्टलहरु बीच सहयोग र सहकार्य अगाडि बढाउने उद्देश्यले उक्त सञ्जाल सुरु गरिएको जानकारी दिए ।जीएनएनका सम्पादक डा. जगन कार्कीले हाल उक्त सञ्जालमा एक दर्जन भन्दा बढी मुलुकका दुइ दर्जन भन्दा बढी अनलाइन पोर्टलहरु आबद्ध रहेको र उक्त संख्या बढ्दै गएको बताए।
ग्लोबल नेप्लिज डटकमका अध्यक्ष तथा समाजसेवी चिरन्जीवी ढकालले प्रवासमा सञ्चालित अनलाइन पोर्टलहरुबीच सहकार्य हुनु राम्रो सुरुवात भएको टिप्पणी गरे । उनले कोरोनाले प्रवासमा बसोबास गरिरहेको नेपाली समुदायमा परेको असरबारे कलम चलाउन पत्रकारहरुलाई आग्रह गरे।एनआरएनएका सल्लाहकार तथा पूर्व केन्द्रीय उपाध्यक्ष कुल आचार्यले जीएनएन परिवारलाई शुभकामना दिंदै सत्य र न्यायको पक्षमा निर्भिक भएर कलम चलाउन आग्रह गरे। अहिले नेपाली समाजलाई जाति, भाषा, धर्मको नाममा विभाजन गर्ने हैन, एकता र मेलमिलापको आधारमा जोड्ने मिडियाको खाँचो छ भन्दै नेटवर्कलाई त्यस दिशामा अगाडी बढ्न उनले सुझाव दिए।
एनआरएनएका युरोप उपसंयोजक कृष्ण तिमल्सेनाले एनआरएन अभियानलाई बलियो बनाउन सञ्चार जगतबाट विगतमा जस्तै भविष्यमा पनि सहयोग प्राप्त भइरहने विश्वास व्यक्त गरे।कार्यक्रममा बेलायतस्थित आध्यात्मिक योग समूहसँग आवद्ध व्यवसायी तथा समाजसेवी पशुपति भण्डारी, कमल भण्डारी, विराज भट्ट, कृष्ण भट्ट, हाल पोखरामा रहेका क्याप्टेन (रि) हितमान गुरुङले दसैंको शुभकामना व्यक्त गरेका थिए। शुभकामना आदानप्रदान कार्यक्रममा बेलायत, बेल्जियम, अस्ट्रिया, स्पेन, कुवेत लगायतका मुलुकमा रहेका पत्रकारहरुको सहभागिता थियो।कार्यक्रममा बेलायतबाट सञ्चालित लन्डन नेपाल न्युजका प्रधान सम्पादक शिव भण्डारी तथा हिमालय मेल डटकमका प्रधान सम्पादक बिपिन निरौलालाई नेटवर्कको नयाँ सदस्यको रुपमा स्वागत गरिएको थियो।