जीएनएन, काठमाडौँ। कारागारका कैदीबन्दीमा कोभिड संक्रमण फैलिने र मृत्युसमेत हुन थालेपछि राष्ट्रिय मानवअधिकार आयोगले सातै प्रदेशका २८ वटा कारागारहरुको अनुगमन गर्यो । कारागार अनुगमनपछि आयोगको निष्कर्ष छ : कैदीबन्दी सुरक्षित छैनन् र सावधानी अपनाइएको छैन ।
आयोगले गत असोज अन्तिम साता सरकारसमक्ष १३ बुँदे सिफारिस गरेको छ । कारागारमा रहेका कैदीबन्दीको जीवनको अधिकारको सुरक्षामा ध्यान पुर्याउन आयोगले सरकारलाई सिफारिस गरेको छ । त्यसका लागि उनीहरुलाई सुरक्षित राख्न र सबै कारागारका लागि पूर्व तयारी तथा प्रतिकार्य प्रयोजनका लागि एक एकीकृत निर्देशका जारी गरी कार्यान्वयन गर्न र गराउन सरकारलाई सिफारिस गरेको छ ।
आयोगले विशेषगरी जोखिमयुक्त समूहमा रहेका आश्रित बालबालिका, जेष्ठ नागरिक र दीर्घरोगीका बारेमा विशेष ध्यान दिन पनि सरकारलाई सुझाब दिएको छ । कारागारमा देखिएको कैदीबन्दीको चाप कम गर्न कानुनतः संभव हुनेहरुका लागि बाँकी सजाय माफी दिई खुला जीवनमा पुनर्स्थापित गर्न पनि आयोगले सुझाएको छ ।
कतिपय कारागारमा स्वास्थ्यकर्मीको दरबन्दी नै नरहेको र भएको ठाउँमा पनि रिक्त रहेको आयोगले बताएको छ । क्वारेन्टीन र आइसोलेसन वार्ड व्यवस्थापनका लागि बजेट नै नभएको भन्दै आयोगले तत्काल बजेट व्यवस्था गर्न पनि सुझाव दिएको छ । पौष्टिक आहारबाट नै रोग प्रतिरोधात्मक क्षमता बढ्ने भन्दै आयोगले हाल सरकारले कैदीबन्दीहरुको भोजनका लागि छुट्याएको रकमले उनीहरुलाई पौष्टिक आहार पर्याप्त नहुने निष्कर्ष निकालेको छ । सरकारले एक जना कैदीबन्दीका लागि दैनिक साठी रुपैयाँ दिने गरेको छ ।
खुला जीवनमा रहेकाको भन्दा नियन्त्रणमा रहेका नागरिकहरुको अधिकार संरक्षण बढी संवेदनशील हुन्छ ।
सावधानी, उपचार र हेरचाहका विषयमा चासो राखेको आयोगले कैदी बन्दीलाई कोभिड खोप प्रदान गर्ने विषयमा भने सरकारलाई कुनै सिफारिस गरेको छैन ।
“अहिले नै हामीले खोपका बारेमा केही भनेका छैनौं,” ग्लोबल नेप्लिज संग कुरा गर्दै आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलले भने, कारागारका कैदीबन्दीहरु जोखिममा छन् भनेर आयोगले भनिसकेको छ ।
डा. पोखरेलले अझै पनि सरकार र विशेषगरी कारागार प्रशासनले कैदीबन्दीको स्वास्थ्य सुरक्षाका विषयमा ध्यान पुर्याउन नसकेको टिप्पणी गरे ।
‘नेपालमा कैदी बन्दीलाई पहिलो समूहमै खोप दिनु पर्छ‘
- डा. ओम कुर्मी
हाल बेलायतको कोभेन्ट्री विश्वविद्यालयमा इपिडेमियोलोजी तथा हेल्थ केयर रिसर्च विषयका एसोसियट प्रोफेसर, डा. ओम कुर्मीले नेपालमा कैदी बन्दीहरुमा संक्रमणको दर कम गर्न तत्काल रोकथामको विशेष व्यवस्था गर्न र खोप उपलब्ध हुनासाथ प्रथम समूहमा खोप दिएमा उपयुक्त हुने सुझाव दिएका छन्।
।
“नेपालका कैदीहरुको औसत उमेर करिव ३५ वर्ष रहेको हालसालै गरिएको एक अध्ययनले देखाएको छ । तर, ३९ प्रतिशत कैदीहरुमा कोभिडको संक्रमण भएको देखिन्छ । जुन एकदमै धेरै हो । त्यसैगरी कैदीहरुमा गरिएको अध्ययनले ८० प्रतिशत कैदीहरुमा कम्तीमा एउटा रोग भएको देखिन्छ,” विश्वप्रतिष्ठित अक्स्फर्ड विश्वविद्यालयमा वरिष्ठ वैज्ञानिकको रुपमा काम गरिसकेका डा. कुर्मीले भने ।
“नेपालमा कूल कैदीहरूमध्ये झन्डै चालीस प्रतिशतमा स्वास प्रश्वास सम्बन्धी रोग देखिन्छ । नेपाली कैदीहरुमा संक्रमणको दर बढी, कारागारहरुमा क्षमता भन्दा निकै बढी कैदीहरु राखिएको, प्रायजसोले स्वस्थकर जीवन शैली नअपनाएको जस्तै बढी चुरोट खाने, बढी मदिरा सेवन गर्ने, पौष्टिक खानेकुरा नखाने देखिएकाले कारागार प्रशासन र नेपाल सरकारले विशेष ध्यान दिनुपर्छ भन्ने मलाई लाग्दछ,” डा. कुर्मीले भने ।
विश्वका धेरै देशहरुले कोभिड जोखिममा रहेका आआफ्ना जनतालाई पहिलो चरणमा खोप उपलब्ध गराउन व्यवस्था मिलाइरहेका छन् । बीस वटा देशले खोप दिन शुरु गरिसकेका छन् । बढी जोखिममा रहेका पहिलो समूहमा स्वास्थ्यकर्मी, दीर्घरोगी र वृद्धवृद्धा पर्दछन् ।
“बेलायतमा कैदीहरुलाई दोश्रो चरणमा खोप दिने भनिएको छ तर, बैज्ञानिकहरुले यो समूहलाई पनि पहिलो चरणमा खोप दिनुपर्छ भनेर आवाज उठाइरहेका छन् । यही १२ डिसेम्बरमा प्रकाशित एक लेखले बेलायतमा सेप्टेम्बर महिनामा साठी वर्ष भन्दा माथि उमेरका १.६ प्रतिशत कैदीमा कोभिड लागेको देखिन्छ, जुन सोही उमेर समूहको सामान्य नागरिक भन्दा दोब्बर छ,” डा. कुर्मीले भने ।
८०० भन्दा बढी कैदी, बन्दीहरु संक्रमित
कोरोना भाइरसको संक्रमणका कारण नेपालका विभिन्न कारागारमा रहेका ८०० भन्दा बढी कैदी, बन्दीहरु संक्रमित भै सकेका छन् ।
कारागार व्यवस्थापन विभागका अनुसार नेपालमा गत साउन यता कोरोना भाइरस संक्रमणका कारण ११ जनाले ज्यान गुमाइसकेका छन् ।
नेपालमा हालसम्म बीस वटा कारागारमा रहेका कैदीबन्दीमा संक्रमण देखिएको छ । ७७ मध्ये ७२ जिल्ला ७४ कारागार छन् । जम्मा कैदीबन्दी तथा थुनुवाको संख्या २५ हजार २४ रहँदा महिलाको संख्या १ हजार चार सय २१ रहेको छ ।
कारागार व्यवस्थापन विभागले पनि कैदीबन्दीलाई पहिलो प्राथमिकतामा राख्न खासै पहल गरेको छैन । ‘जोखिमयुक्त समूहमा पर्छन् तर, पहिलो चरणमै खोप लगाइदिनुपर्छ भनेर भन्न सकिने अवस्थामा हामी छैनौं’, विभागका महानिर्देशक द्रोण पोखरेलले ग्लोबल नेप्लिजसँग भने । “अहिले नै पहिलो प्राथमिकतामा राख्नु पर्छ भन्ने छैन,” उनले थपे, “खोप आएपछि त उनीहरुले पनि स्वतः पाइहाल्छन् नि ।”
नेपालमा महामारी फैलिँदो छ भने यसको नियन्त्रणमा विगतमा पटक पटक देखिएको कमजोरी भ्याक्सिन आइसकेपछि पनि दोहोरिने हो कि भन्ने आशंका बढेको छ ।